नेपाल जेष्ठ प्राध्यापक समाजको अध्यक्षमा प्रा. डा. कोइराला चयन
अवकाशप्राप्त प्राध्यापकहरूको संस्था नेपाल जेष्ठ प्राध्यापक समाजको अध्यक्षमा प्रा.डा. सिद्धि प्रसाद कोइराला चयन भएका छन् । नेपाल ज्येष्ठ प्राध्यापक समाजको १२औँ अधिवेशन तथा साधारणसभाले उनको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । समाजको अन्य पदाधिकारीमा उपाध्यक्षमा प्रा. डा. अम्वरप्रसाद पन्त, महासचिवमा प्रा. डा. इन्द्रबहादुर कार्की, सचिवमा प्रा. डा. विष्णुशंकर पौड्याल र कोषाध्यक्षमा प्रा. डा. प्रदीपकुमार भट्टराई निर्विरोध चयन भएका छन् ।
समाजका नवनिर्वाचित सदस्यहरूमा तिमिला यमी थापा, सुरेन्द्रकेशर अमात्य, डा. विमला शाक्य, निता मल्ल ख्वाउजु, नगेन्द्रराज सिटौला र निर्मला शर्मा ढुंगाना छन्। साधारणसभामा निवर्तमान अध्यक्ष डा. विमलकुमार शर्माले अग्रज जेष्ठ प्राध्यापकहरूको सोचले नै समाज आजको अवस्थामा आइपुगेको उल्लेख गरे । डा. शर्माले जेष्ठ प्राध्यापकहरूको हक हितका लागि समाजले गरेका कामको जानकारी दिँदै प्राध्यापकहरूको स्वास्थ्य उपचारका लागि विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेको बताए ।
